यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सहयोग गर्न भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।
पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका नेता रामचन्द्र पौडेलका लागि भोट माग्दै देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बालकोट पुगेर ओलीलाई पत्र बुझाएका थिए । पौडेलले बालकोट पुगेर आफूले एमाले अध्यक्ष ओलीलाई पत्र दिएको बताए ।
यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले पनि पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न १७ जनालाई पत्र पठाएका थिए । तर, त्यसमा कांग्रेस परेको थिएन ।
२५ फागुनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका तर्फबाट पौडेल र एमालेका नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेस, माओवादी केन्द्रसहित ८ दलका तर्फबाट साझा उम्मेदवार बनेका छन् भने एमाले उम्मेदवार नेम्वाङको पक्षमा अहिलेसम्म कुनै दल खुलेको छैन ।