त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ । विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक जना क्यानेडियन नागरिकलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ ।
गएराति १२:३० बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा काठमाडौं अवतरण गरेका क्यानडियन नागरिकलाई सुनसहित विमानस्थल भन्सारले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब छन् । उनी पहिलो पटक नेपाल आएका व्यक्ति हुन् । ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठ वटा बिस्कुट आकारका १ केजी भन्दा बढी मात्राको सुन ल्याएका थिए ।
पक्राउ परेका कमल महगौबसँग थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।