बाँकेमा हालसम्म दादुराका ९२ जना विरामी भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९० र खजुरा गाउँपालिकामा २ जना दादुराका विरामी भेटिएका हुन् । दुई साताको अवधिमा ९२ जना विरामी भेटिएका हुन् । आज मात्रै १४ जना विरामी भेटिएका हुन् । नेपालगञ्जका १० वटा वडा र खजुराका एउटा वडामा विरामी भेटिएका छन् । नेपालगञ्जका वडा नम्बर ७, ८ र ९ मा बढी विरामी भेटिएको नेपालगञ्ज उपहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । वडा नम्बर ९ मा २९ जना, वडा नम्बर ८ मा २८ जना र वडा नम्बर ७ मा १५ जना दादराका विरामी भेटिएका छन् । वडा नम्बर १ मा एक जनाको ज्यान गएको छ ।
दादुरा प्रभावित वडाहरुमा चार दिनदेखि खोप अभियान जारी छ । दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि खोप अभियानलाई सशक्त ढंगले अगाडि बढाइएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । खोप प्रभावित वडाहरुमा खोप कभरेज बढाउन आज विभिन्न ठाउँहरुमा अभिमुखीकरण कार्यक्रम समेत गरिएको चन्दले जानकारी दिए । वडा नम्बर ४, ५, ७, ८, १४ र १५ नम्बर वडाका उपयुक्त स्थानमा खोप केन्द्र सञ्चालन गर्न जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय शिक्षक, धर्मगुरु, मदरसा शिक्षक लगायतको उपस्थितिमा अभिमुखीकरण गरी खोप केन्द्र छनौट गरिएको छ ।
यसैबीच खोप अभियान शुरु भएको चौथो दिनसम्म २११९ जनालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । आज चौथो दिन ३९९ जनालाई खोप लगाइएको छ । ६ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । श्रेष्ठले दादुरा रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेले आज दिनभर विभिन्न क्रियाकलाप गरेको बताए ।
नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ मा विहानदेखि साँझसम्म जनचेतनामूलक सन्देशसहितको माइकिंग, नेपालगञ्ज र खजुराका दादुरा प्रभावित वडाहरुमा डब्लुएचओ, युनिसेफका प्रतिनिधिसहित पुगेर बस्तुस्थिति अवलोकन, खाज पड्ताल तथा जाँच, उपचार र खोप अभियानमा सहजीकरण लगायतका गतिविधि गरिएको श्रेष्ठले जानकारी दिए ।