नेपालगञ्जमा दादुरा देखिएपछि थालिएको खोप अभियानको दोस्रो दिन ३८३ जनालाई खोप लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार दोस्रो दिन आज २०९ बालक र १७४ बालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ ।
५, ७ र ८ नम्बर वडाबाट दादुरा विरुद्धको खोप लगाउन शुरु गरिएको हो । पहिलो दिन हिजो ८७५ जनालाई खोप लगाइएको थियो । दुई दिनमा १२५८ जनालाई खोप लगाइएको बस्नेतले बताए । आज वडा नम्बर ५ मा २१०, ७ मा ९२ र वडा नम्बर ८ मा ८१ जनालाई खोप लगाइएको छ ।
६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइँदैछ । ५, ७, ८, १०, ११, १५ र २२ गरी दादुरा प्रभावित ७ वटा वडाका १०९९८ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार खोप लगाउन आएका अधिकांश बालबालिकाले यसअघि दादुरा विरुद्धको खोप लगाएका छैनन् ।
पुस १४ गते वडा नम्बर ७ का ४ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म नेपालगञ्जका १० वटा वडाका ६३ जनामा दादुरा देखिएको छ । दादुराका कारण अढाई बर्षीय बालकले ज्यान समेत गुमाएका छन् । हाल ६३ जना दादुरा प्रभावित बालबालिका उपचारमा रहेको जनस्वास्थ्य निरीक्षक तेज वलीले वताए ।