लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४औं जन्मोत्सवको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर गरिएको छ । साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ नेपालगञ्ज भेरीले आयोजना गरेको परिक्षणमा पुरैनीका ७६ जना महिलाले सेवा लिएका छन् ।
साप्ताहिक कार्यक्रमको शुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनीप्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले ग्रामीण भेगका महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर आयोजना गरिएको कार्यक्रमको शुरुवात एकदमै सराहनीय भएको बताइन् । जनचेतनाको अभाव र स्वास्थ्यमा देखिएका समस्यालाई लुकाएर राख्ने बाध्यताका कारणले गर्दा कतिपय महिलाहरुको ज्यान जोखिममा पर्ने गरेको परिस्थितिलाई सम्बोधन गरेको भन्दै उनले लायन्स क्लबलाई धन्यवाद दिइन् । उनले महिलाहरुको जटिल स्वास्थ्य समस्याका विषयमा स्वयम् आफू सचेत हुनुपर्ने र जागरुक हुनुपर्नेमा समेत जोड दिइन् ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व गर्भनर लायन शेम शाक्यले महिलाहरुले आफूभित्रको समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण समयमा उपचार नहुने र अनेकौं स्वास्थ्य समस्याको सामना गर्नुपरेको हुँदा सम्पूर्ण महिलाहरुले यो अवसरको सदुपयोग गर्दै खुलेर आफ्ना समस्या राख्नुपर्नेमा जोड दिए । त्यस्तै वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफार हलवाईले लायन्स क्लबले महिलाहरुको एकदमै जटिल समस्यालाई सम्बोधन गर्न आफ्नो वडामा कार्यक्रमको आयोजना गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष मेल्बिन जोन्स डे सेलिब्रेसनका संयोजक लायन साबित्रा बस्नेतले वडाका सम्पूर्ण महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर परिक्षणमा सहभागी भएर समयमा नै आफूभित्रको रोग पत्ता लगाएर उपचार गर्न अग्रसर हुन अनुरोध गरिन् । लायन्स क्लब अफ भेरीका अध्यक्ष शुष्मा सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व गर्भनर लायन मधुसुदन शर्मा, एक्जिक्युटिभ चिफ लायन शशी स्वाँर, डिस्ट्रिक्ट को-चिफ लायन सरिता शाक्य, लायन साबित्रा शर्मा, डिस्ट्रिक्ट एडभाइजर लायन उमा थापा मगर लगायतको उपस्थित रहेको थियो ।
पाठेघरको मुखको क्यान्सरको परिक्षण डा. फरहद बानो र डा। नम्रता भट्टराईले गरेका थिए भने चेकजाँचको क्रममा कतिपय महिलाहरुको पाठेघरमा ट्युमरको केश देखिएको हुँदा थप उपचारको लागि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रिफर समेत गरिएको छ ।
त्यसैगरी सोही अवसरमा लायन्स क्लब अफ नेपालगञ्ज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई ज्याकेट (न्यानो लुगा) वितरण गरेको छ भने लायन्स क्लब अफ नेपालगञ्ज, सिनर्जी, रोल्पा र न्युरोडले संयुक्तरुपमा बैजनाथ गाउपालिका ७ पेडारीका १३ जना अपांगता भएका बालबालिका र भवानी मावि बढैयाताल सिमरा ३ का ३५ जना बौद्धिक अपांगता भएकाहरुलाई न्यानो लुगा वितरण गरेको छ । लायन्स क्लब अफ नेपालगञ्ज वाटरपार्कले कारकाँदोमा रहेको सुस्त मनस्थिति भएका २५ जनालाई ट्रयाकसुट वितरण गरेको छ ।