बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखा परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो ।
त्यहाँ अरु १७ बालबालिकामा पनि दादुराको आशङ्का गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उनले बताए ।
नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप फोकल पर्सन श्रेष्ठले बताए । सहजै फैलिने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।
उनका अनुसार ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दागलगायत लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि बालरोग विशेषज्ञ डा. विनोद खेतान कहाँ लगिएको थियो ।
‘दादुराको जस्तो लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा पाँच जनाको रगत परीक्षणका लागि काठमाडौं पठाएका थियौँ’, प्रमुख पौडेलले भने, ‘पाँच मध्ये चार जनामा दादुरा सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’