बाँके डुडुवा गाउँपालिकाले सबैभन्दा ठूलो सडक योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निर्माणको कार्य शुरु भएको हो ।
सडक निर्माण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीन सय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिसहरुले प्रत्यक्ष लाभ लिनेछन् भने खेतीकिसानी गर्नेहरुका लागि पनि सहयोग पुग्नेछ ।
सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकहरुलाई आवतजावतका लागि निकै सास्ती हुँदै आएको छ । विशेषगरी वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुँदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको छ ।
डुडुवा गाउँपालिका वडा नंं. २ अमृतपुर्वादेखि रामनगर पाँझासम्म साढे तीन किलोमिटर पिसिसी सडकको आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रका स्थानीयका लागि आवतजावतमा सहजताका लागि ठूलो समस्या रहेकाले यो सडक निर्माणपछि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाकै अति दुर्गम र वाढी डुबानबाट पीडित स्थानीयहरुको सहजकताका लागि सिधा सम्पर्क जोड्न सडक निर्माणको कार्य शुरु भएको भन्दै सडक निर्माणपछि त्यहाँका मानिसहरुलाई सहजता प्रदान गर्ने बताए ।
साढे तीन किलोमिटर पिसिसी सडकसंगै एक वटा कच्वे, १५ वटा कल्भर्ट निर्माणको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताए । उनका अनुसार नारायणम निर्माण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाँको लागतमा सो सडक निर्माण गर्नेछ ।
डुडुवा गाउँपालिकाका प्रायः सबै वडा बाढी प्रभावित क्षेत्र रहेकाले त्यहाँका अधिकाँश सडक पिसिसी नै उत्तम मानिएकाले सबैजसो सडक पिसीसी नै निर्माण गरिएको पालिकाका प्राविधिक शाखाका ओभरसियर मदनेश्वर झाले बताए । उनका अनुसार पालिकामा निर्माण भएका अधिकाँश सबै सडकहरु पिसीसी गरिएको छ भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो ।