चितुवाले आक्रमण गर्दा डोटीमा ६ जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनालाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डोटीले जानकारी दिएको छ ।
चितुवाले मगंलबार अपराह्न ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए । उनका अनुसार घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला, सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन् ।
४ वर्षका सिद्ध बटाला र १५ वर्षीया लाली बटालाको अवस्था केही गम्भीर भएपनि बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बालक सिद्ध बटालालाई घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन गएकी उनकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।
घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।