बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्।
महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो। उनलाई आजै बैतडीलाई लैजान लागिएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक भोलाप्रसाद रावलले जानकारी दिए।
गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।
२१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन्। उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन्।
यो पनि पढ्नुस्:
म्यादी प्रहरी बनेर कमाएको पैसा पनि बुझ्न पाइनन् मायाले
त्यही क्रममा उनको भेट कोलीसँग भएको थियो। पछि उनैले मायाको हत्या गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो।