गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ ।
कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
तलब नपाएका कर्मचारीले राम्रोसँग काम गर्न नसक्ने र तलब समेत नपाएको मनोविज्ञान रहेको अवस्थामा हवाई सुरक्षामा जोखिम बढी हुन सक्ने भएका कारण अहिलेलाई उडान गर्न नदिने निर्णय गरेको प्राधिकरणले जानकारी दिएको छ ।
गुण एयरका जहाजले हाल तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।
गुणका उडान गत बुधबारदेखि नै बन्द छन् । यसअघि गुण एयरले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो । यद्यपी हिजोदेखि नियमित उडान गर्ने कम्पनीको भनाई थियो । तर, उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ । पाइलटहरुले समेत तलब नपाएको विषयले गर्दा उडानमा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले उडानमा रोक लगाएको जनाएको हो ।