आज बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे नेकपा माओवादी केन्द्रले अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो । हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो । यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो,’ पार्टी उपाध्यक्ष कृष्णबहादुर महाराले भने, ‘कुनै व्यक्ति विशेष कुरा भएन । यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’
यस्तै बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष महराले बताए ।