राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो साढे ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो ।
निर्वाचन आयोगले आगामी राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको समय तोकेको छ । आइतबार राति नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुराकानी गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीको बैठक राखेर राष्ट्रपतिबारे निर्णय गर्ने बताएका थिए ।
सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले राष्ट्रपतिका लागि सहयोग गर्न दबाब दिइरहेको छ । यता प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सहयोग गर्न प्रस्ताव गरेको छ ।