तेस्रो लिङ्गीबारे सचेतना फैलाउन पश्चिम तारा नेपालले जानकी गाउँपालिकामा अभिमुखीकरण तालिम गरेको छ । अभिमुखीकरण तालिम सामाजिक विकास तथा शिक्षा स्वास्थ्य संयोजक रामआँचल धोवीको अध्यक्षतामा सम्पन्न भएको हो ।
तेस्रो लिङ्गीलाई कुनै किसिमको भेदभाव नहोस् भन्ने सचेतना फैलाउने उद्देश्यले अभिमुखीकिरण तालिम गरिएको पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले बताइन् । धेरैलाई यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा थाहा नभएकाले तेस्रो लिङ्गीका बारेमा जानकारी दिन बाँकेका ८ वटै पालिकामा अभिमुखीकरण तालिम गरिरहेको चौधरीले बताइन् । उनले तेस्रो लिङ्गीको पहिचान, अधिकार, शिक्षा र अवसर सुनिश्चितताका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
वडा नम्बर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजनले तेस्रो लिङ्गीलाई पनि समाजमा महिला र पुरुष सरह सम्मान, अधिकार र अवसर प्रदान गरिनुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।