राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको भोलिपल्टै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा ओली बालुवाटार पुगेका छन्। ओलीले खाली भएको गृह मन्त्रालयको टुंगो लगाउन आज बिहान बालुवाटार पुगेको बताइएको छ ।
पछिल्लो समय एमाले अध्यक्ष ओलीले गृहमन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिनका लागि दबाब दिँदै आएका छन् । उनले सहमति नतोड्न पनि आग्रह गर्दै आएका छन् ।
तर प्रचण्डले भने अदालतबाट रविको नागरिकताको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय दिन नहुनेमा गम्भीर रहेको बताएका छन् । यसबारेमा माओवादीको स्थायी कमिटी बैठकले पनि निर्णय गर्दैछ ।
पछिल्लो समय ओलीले रविमाथि पूर्ण भरोसा गरिरहेका छन् र रविले पनि ओलीकै भर रहेको बताउँदै आएका छन्। नागरिकता काण्डमा मुछिएपछि सर्बोच्चको फैसलापछि रविले गृहमन्त्रालयबाट राजीनामा दिनुपरेको थियो ।
रविले सांसद पद गुमाइसकेका छन् । अब पुनः सांसद बन्नका लागि उनले पुनः चितवन २ बाट चुनाव जित्नुपर्ने हुन्छ ।
रविलाई गृह मन्त्रालय दिनका लागि ओलीले पनि ठूलो स्वार्थ बोकेका छन् । राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट हाल्ने आशासहित ओलीले रविलाई च्यापेको बताइएको छ। लामिछानेले मंगलवार प्रधानमन्त्री दाहाललाई भेट्दै गृहमन्त्री आफैलाई बनाउनु पर्ने अन्यथा आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।