प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा आइतबार महाआरती गरिएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने महाआरती पहिलो पटक बागेश्वरीमा आयोजना गरिएको हो । नाट्टा बाँके च्याप्टरको पहल र प्रयासमा बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ’, नगर प्रमुख प्रशान्त विष्टले सहयोगको निरन्तरता प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।’
बागेश्वरीलाई धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य स्तरका रूपमा लिंदै नाट्टा बाँके च्याप्टरले पर्यटकीय आकर्षणका लागि महाआरतीको परिकल्पना गरेको हो । ‘निकै पहिलेदेखिको सपना आज साकार भएको छ’, निरन्तरको पहल र प्रयासले सार्थक नतिजा ल्याएको प्रति हर्षविभोर हुँदै नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘आउनस् हातेमालो गरेर दैनिक महाआरतीको परिकल्पनालाई सार्थक बनाऔं ।’ उनको प्रयासलाई नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त सहितको टोलीले प्राविधिक संयोजन गरेर सघाएको थियो भने बागेश्वरी मन्दिर व्यवस्थापन गुठीका अध्यक्ष समेत रहेका सांसद डा. धवल समशेर राणा, सचिव गोपाल अधिकारी, सदस्य उमा थापामगर, मधुसदुन शर्मा लगायतले होस्टेमा हैसे गरेका थिए ।
नगर प्रमुख विष्टले बागेश्वरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफ्नो सकारात्मक धारणा व्यक्त गरे । उनले जुंगे महादेवसम्मको पुललाई पुनर्निर्माणका लागि टेण्डर भैसकेको जानकारी दिंदै बागेश्वरी परिसरको छेउमै रहेको गौशाला हनुमानगढी नजिक १ सय ८ फिटको हनुमान मूर्ति बनाउने काम छिट्टै सुरु हुने बताए ।
गुठीका अध्यक्ष समेत रहेका सांसद डा. राणाले बागेश्वरीलाई धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न थालिएको प्रयासमा आफ्नो निरन्तर सहयोग रहने बताए । नेपालगन्जमा आइतबार शुभारम्भ गरिएको वेष्टर्न ट्राभल मार्टको सन्दर्भमा महाआरती शुभारम्भ गरिएको हो । जहाँ भारतका सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डियाका पदाधिकारीहरू सहभागी थिए । ‘पुण्यभूमि नेपालको बागेश्वरीमा महाआरतीको शुभारम्भले भारतीय पर्यटकलाई नेपालगन्जका लागि आकर्षण बन्न सक्छ’, टाईका अध्यक्ष ज्योति मयलले महाआरती समारोहमा भनिन् । कार्यक्रमको सहजीकरण गरिरहेकी नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी गुठी समितिकी थापाले महाआरतीलाई निरन्तरता दिन गुठी प्रयासरत रहने बताइन् ।