स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल बाँके शाखाले आज नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गिरीले सरकारको स्थायित्वका विषयमा कुनै आशंका नरहेको दाबी गर्दै सरकार जनचाहना अनुसार काम गर्न दृढ रहेको बताए । गुणस्तरीय स्वास्थ्य सेवामा जनताको सहज पहुँच सुनिश्चितताका लागि प्रतिबद्ध भएर काम गर्ने मन्त्री गिरीको भनाई छ । उनले भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने बताए । ७७ वटै जिल्लामा स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गर्ने मन्त्री गिरीले बताए ।
बाँकेमा फैलिएको दादुराको पछिल्लो अवस्था र नियन्त्रणका लागि भएका प्रयासबारे जानकारी लिन आफू नेपालगञ्ज आएको बताउँदै गिरीले दादुरा नियन्त्रण र व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरीक्षण गर्नुभएका गिरीले भेरीले विभिन्न समस्याका बाबजुद प्रदान गरिरहेको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै भेरी अस्पतालको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र स्तरोन्नतिका लागि मन्त्रालय गम्भीर ढंगले लाग्ने बताए । पत्रकार भेटघाट प्रेस चौतारी नेपाल बाँके शाखाका अध्यक्ष दुर्गा रोकायाको अध्यक्षतामा भएको थियो ।