हत्या अभियोगमा मुछिएका एक जना प्रतिनिधिसभा सदस्यलाई पक्राउ गर्म देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी भएको छ । महोत्तरी–१ नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको हो ।
हत्या अभियोगमा मुछिएका प्रतिनिधिसभा सदस्य महतोलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिएका छन् ।
मधेस आन्दोलनका क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोप सांसद कोइरीमाथि छ । २०७२ भदौ २५ गते विकको हत्या भएको थियो।महोत्तरीको जलेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उनी विक हत्याको योजनाकार रहेको आरोप छ ।
उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो ।
जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा महतोलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरले त्यो आदेश उल्ट्याउँदै २०७७ मंसिर १९ मा महतोलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।
गृह मन्त्रालयबाट लिखित र मौखिक निर्देशन आएको प्रवक्ता राईले बताए । सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको बताउँदै राईले उनी छिट्टै समातिने प्रवक्ता राईले बताए ।
गृहमन्त्रीले दिएको निर्देशनका बाबजुद कोइरी पक्राउ नभएर चौतर्फी आलोचना हुन थालेपछि ६ माघमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै असन्तुष्टि जनाएको थियो । प्रहरीको निगरानी बढेपछि सांसद कोइरी भारततिर लागेको आशंका गरिएको छ ।