बाँकेमा २६५ जना बालबालिका दादुरा संक्रमित भएका छन् । आज थप ५ जना नयाँ विरामी फेला परेका छन् । पुस १२ गतेदेखि फैलिएको दादुरा जिल्लाका पाँच वटा पालिकामा देखिएको छ ।
नेपालगञ्ज, नरैनापुर, खजुरा, डुडुवा र कोहलपुरमा दादुरा देखिएको हो । संक्रमित मध्ये २०८ जना निको भएका छन् । ५६ जना घरमै उपचारमा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । नेपालगञ्जमा मात्रै हालसम्म २०५ जना बालबालिका दादुरा संक्रमित भएका छन् । यी मध्ये १७८ जना निको भएका छन् भने २६ जना घरमा आइसोलेसनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका फोकल पर्सन जागेश्वर बस्नेतले बताए । एक जनाको भने मृत्यु भइसकेको छ ।
दादुरा फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान जारी छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइँदैछ । नेपालगञ्जमा लक्ष्य भन्दा बढी १०४.४७ प्रतिशतलाई खोप लगाइएको छ । नेपालगञ्जमा ४४८९७ जनालाई दादुरा-रुबेला खोप लगाइएको खोप फोकल पर्सन बस्नेतले जानकारी दिए । डुडुवामा दुई दिनमा ३८९० जना बालबालिकालाई दादुरा-रुबेला खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहका अनुसार नरैनापुरमा १२२५८ जना बालबालिकालाई खोप लगाइएको छ । जुन लक्ष्यको ८७.४३ प्रतिशत हो ।