नेपालगञ्जमा आज माघीको दिनमा पनि ८८१ जनालाई दादुरा-रुबेला खोप लगाइएको छ ।
३ र १६ नम्बर वडामा दुई वटा खोप केन्द्र सञ्चालन गरी खोप लगाइएको हो । यो संगै खोप अभियान सुरु भएको १०औं दिनमा नेपालगञ्जका १७५७० बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताए ।
भोली भने यहाँका १६ वटा वडाका १६ खोप केन्द्रबाट ६ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने बस्नेतले जानकारी दिए । वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा भोली खोप लगाइनेछ ।
पुस १२ गतेयता फैलिएको दादुराबाट हालसम्म बाँकेमा १९२ जना संक्रमित भइसकेका छन् । यी मध्ये नेपालगञ्जका मात्रै १८८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठेले बताए । खजुराका ३ र कोहलपुरका १ जना छन् । आज मात्रै नेपालगञ्जमा थप १२ जना भेटिएका हुन् ।
संक्रमित मध्ये १३४ जना निको भइसकेका छन् । ५७ जना भने होम आइसोलेसनमा रहेको श्रेष्ठले जानकारी दिए । एक जनाको भने मृत्यु भइसकेको छ ।