नेपालगञ्जमा दादुरा संक्रमित १०७ जना विरामी निको भएका छन् । पुस १२ गतेदेखि फैलिएको दादुरा प्रकोपका कारण नेपालगञ्जमा मात्रै हालसम्म १५६ जना बालबालिका प्रभावित भएकोमा ४८ जना होम आइसोलेसनमा रहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
नेपालगञ्जमा आज मात्रै थप २६ जना दादुरा प्रभावित बालबालिका भेटिएका हुन् । दादुरा फैलिएपछि नेपालगञ्जमा दादुरा-रुबेला विरुद्धको खोप अभियान चलिरहेको छ । खोप अभियान चलेको आठौं दिनसम्म १२८४५ जनाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि सुरु भएको खोप अभियानमा खोप प्रगति प्रतिशत ६९.८५ रहेको बताए । भोली पनि नेपालगञ्जका ९ वटा वडाका १२ खोप केन्द्रबाट खोप लगाइनेछ ।
श्रेष्ठले ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको बताए । खोप लगाउने लक्षित संख्या १८३९० छ । दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या जिल्लाभर भने १६० पुगेको छ । श्रेष्ठका अनुसार नेपालगञ्जमा १५६, खजुरामा ३ र कोहलपुरमा १ जना दादुराका विरामी भेटिएका हुन् । यी मध्ये ११० जना निको हुँदा ५० जना होम आइसोलेसनमा छन् ।
संक्रमित हुनेमा अधिकांश ५ देखि १० वर्ष उमेर समूहका बालबालिका छन् । ती मध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ । दादुराबाट केही दिन पहिले नेपालगञ्ज-५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो ।