नाबालिगलाई बलात्कारको मुद्दामा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्ष पठाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो ।
तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ ।
उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । भोलि २० लाख रुपैयाँ बुझाएर लामिछानेले धरौटीमा छुट्छन् । लामिछाने गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।