नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई तिब्रता दिंदै अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको विकासमा सर्वपक्षीय दबाब बढाइने भएको छ । नेपालगन्जको दीर्घकालीन विकासका लागि अर्थपूर्ण रहेको पर्यटकीय गन्तव्यलाई दीगो रुप दिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य भएको भन्दै त्यसका लागि दबाब बढाउन लागिएको हो ।
साथै, नेपालगन्ज– दिल्ली हवाई उडानको पहलका लागि पनि आवश्यक समन्वय गर्न चासो राखिएको छ । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणा, नगर प्रमुख प्रशान्त विष्ट समेतको उपस्थितिमा नेपालगन्जका व्यवसायिक क्षेत्रका अगुवाहरुले त्यसबारे आवश्यक पहल लिएका हुन् ।
त्यसका लागि सोमबार नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना व्यवस्थापन समितिको संयोजनमा भएको बैठकमा नेपालगन्जको समग्र विकासमा पर्यटन पूर्वाधारका रुपमा आवश्यक विभिन्न विषयमा छलफल गरिएको संयोजक श्रीराम सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार, बैठकले नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख विष्टको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।
सांसद डा. राणाले नेपालगन्ज देखी भारतको नयाँ दिल्लीलाई प्राथमिकतामा राखिंदै आएकोमा अब चन्ढीगढ, बैंगलोर लगायतको सहरमा क्षेत्रीय हवाई सेवाको कनेक्टिभीटीका लागि पहल थालेको बताए । ‘त्यसलाई जनस्तरमा निरन्तर समन्वय गर्दै दबाब तथा आवश्यक पहलका लागि यो कार्यदल महत्वपूर्ण हुन्छ,’ डा. राणाले भने ।
कार्यदलको सह–संयोजकमा मार्ट आयोजना तथा व्यवस्थापन समितिका संयोजक, नाट्टा अध्यक्ष श्रीराम सिग्देल, सदस्य सचिवमा पर्यटन प्रवर्दन मन्चका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ बनाइएको छ । कार्यदलमा हान नेपालगन्ज अध्यक्ष अशित शम्शेर राणा, पर्यटन विज्ञ डा. ओम प्रकाश मिश्र, पत्रकार झलक गैरे सदस्य छन् । ‘राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिलाई सदस्य राखिएको कार्यदलमा जिल्लाका सांसदहरुलाई सल्लाहकार बनाइएको छ,’ सिग्देलले भने ।
वेस्टर्न ट्राभल मार्टको आयोजना जनवरी तेस्रो साता प्रस्ताव गरिरहँदा नेपालगन्ज–दिल्ली हवाई उडानलाई छिटो गरी संचालन पहल गर्न सकिए निकै ठुलो प्रतिफल प्राप्त हुने विश्वास अध्यक्ष सिग्देलको छ । उनले छिट्टै सर्वदलीय बैठक डाकिने बताएका छन् ।
पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रमुख अतिथि, सांसद डा. धवल शम्सेर राणाले नेपालगन्ज–दिल्ली उडानबारे आफुले गरिरहेका पहल बारे जानकारी गराएका थिए । उनले सरकार बन्ने बित्तिकै आफ्नो पहलले थप तिव्रता पाउने जानकारी दिंदै त्यसको सार्थकताले नेपालगन्जको मात्र नभएर पश्चिम नेपालकै कायापलट हुने विश्वास व्यक्त गरे ।
कार्यदल संयोजक नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले आवश्यकता अनुसार आफ्नो सक्रियता तत्कालै देखि हुने बताए । पश्चिम क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने अभियान नेपालगन्जको पनि प्राथमिकता भएकाले नेपालगन्ज विमानस्थलको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतीमा दबाब दिइने बताए ।
‘नेपालगन्ज विमानस्थलको स्तरोन्नती र नेपालगन्ज–दिल्ली उडान यो क्षेत्रको विकासका लागि सबैको साझा सवाल हो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका मञ्चका संयोजक श्रेष्ठले भने, ‘सबैको साथ, सहयोग र ऐक्यबद्धतामा यसलाई अभियानकै रुपमा अगाडी बढाइने छ ।’