संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको श्रृंखलावद्ध कन्सर्टले नेपालगञ्जमा लगातार पाँचौं सफलता पाएकोमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘नेपालगञ्जमा सडकमा आश्रित आमाबुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं ।’
हाल सुर्खेत रोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगञ्जकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना लिएको छ । नेपालगञ्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक र दुई वटा बस मार्फत् आज धनगढीतर्फ प्रस्थान गर्दैछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढी रंगशाला’मा नेपथ्य पुस ३ गते आइतबार प्रस्तुत हुँदैछ ।