बाँकेको नरैनापुर गाउँपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।
गाउँपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताए । उनले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराएपनि घर नभत्काएपछि डोजर लगाएर भत्काउन बाध्य भएको बताए ।
गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाउँपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
पालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘सार्वजनिक सम्पत्तिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन,’ अध्यक्ष शाहले भने-‘नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाउँपालिकाले भत्काउँदै जानेछ ।’
गाउँपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक-पटक लिखित पत्र समेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताए । गाउँको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थितरुपमा सडक विस्तार गर्ने उद्देश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष शाहले बताए ।
अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ ।