डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा आफूहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरुले चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन् । नयाँ आर्थिक वर्ष २०७९।०८० को गाउँसभा नबस्दा बजेट समेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका छन् ।
गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले जनप्रतिनिधिहरुको पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि आइतबारदेखि कार्यालयमा तालावन्दी गरी आन्दोलनमा उत्रेका हुन् । कर्मचारीहरुले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयहरुमा पनि शिक्षकहरुले आंशिक अध्यापन गराएका छन् ।
केही दिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरुले ऐक्यबद्धता जनाएका छन् । आइतबारदेखि गरिएको तालावन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् ।
चालू आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनै पनि कर्मचारीले पाएका छैनन् भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधि समेत छैन । ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।
कर्मचारीहरुले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठूलो समस्या भएको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका हुन् ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उनले विपक्षीहरुले पटक-पटक मौखिकरुपमा सहमति गरेपनि व्यवहारमा कार्यान्वयन नगरेको बताए । अध्यक्ष चौधरीले अनावश्यक विभिन्न कानुन विपरितका बखेडा गरेर कार्य अवरोध गरेको र नीति तथा प्रक्रियामा जान नखोजेको र बैठकमा समेत अनुपस्थित हुने एजेण्डमाथि छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको बताए ।
उनका अनुसार भोली मंगलबार दिउँसो २ बजे कार्यपालिकाको बैठक बोलाइएको छ । सम्भवतः भोलीको बैठकले केही निकास दिने विश्वास लिइएको छ । यता विपक्षी दल नेकपा एमालेका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले पालिका अध्यक्षसंग मौखिकरुपमा भद्र सहमति भएको भन्दै कार्यपालिकाको बैठकले गाउँसभा गर्न बाटो खुलेको प्रतिक्रिया दिए । उनले मंगलबारको बैठकले निकास दिने विश्वास व्यक्त गरे ।
समयमा गाउँसभा नभएर संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया समेत अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको छ ।