नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ भङ्गेरीमा आमाछोरीको हत्या भएको छ। हिजो साँझ धारिलो हतियार प्रयोग गरेर २० वर्षीया आमा सम्झना पाण्डे (खतिवडा) र उनको छोरी ३ वर्षीया छोरी कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका ५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव हिजो साँझ ७ बजे भेटिएको हो ।
प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
हत्याको आशंकामा प्रहरीले २१ वर्षका पुष्कल भनिने सोनम तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको खड्काले बताए ।
घटना लगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरिएको खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।