यही मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब मात्र चार दिन बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धि कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था अन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।
मंसिर १ गते मध्यरातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानूनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ । मंसिर १ गते रातिदेखि कुनै पनि प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।