मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिरमा शनिबार पर्छ ।
केही दिनअघि नै आयोगले यस सम्बन्धि निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदैछ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबार समेत गरी लगातार चार दिन बिदा हुनेछ । अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्व तयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको छ ।
निर्वाचन आयोगको सिफारिस अनुसार बिदा सम्बन्धि निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।