काठमाडौँ । डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदूरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।
भूकम्प मंगलबार राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।
डोटी । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।
त्यस्तै डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ । यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए ।
उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएकाे छ ।
भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।