नेपालगन्जबाट भ्रष्टाचार विरोधी युवा चेतनालाई देशव्यापी अभियान सञ्चालन गर्न सफल बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माण शुरु गरेको छ । बासको भवनलाई अभियन्ताहरुले ‘भ्रष्टाचारविरुद्धको मन्दिर’ भनेका छन् ।
समाजसेवी माधवराम बर्माले भ्रष्टाचारविरुद्धको अभियान महान भएकाले आफुले बासको केन्द्रीय कार्यालय भवन निर्माण गर्न नेपालगन्ज उपमहानगरपालिका १८ भुजईगाँउमा जग्गा दान गरेको बताए ।
‘म धार्मिक मान्छे, भ्रष्टाचारविरुद्धको अभियान महान कर्म हो, धर्म हो,’ सुशासनका पक्षमा काम गर्न बासलाई दशौं लाख मूल्यको जग्गा दान गरेका बर्माले दैनिक नेपालगन्जसँग भने, ‘शिक्षाको ज्योती फैलाउन विद्यालयलाई जग्गा दान गरियो, धार्मिक चेतनाका दागि मन्दिर बनाइयो, यो पनि अर्काे मन्दिर सरह हो जसले भ्रष्टाचारजन्य अपराध निरुत्साहनमा काम गर्नेछ ।’ भाइ युवराजकी श्रमिति तारावती कुर्मीको स्मृतिमा उक्त जग्गा दान गरिएको बर्माले बताए ।
सोमवार घटस्थापनाको शुभ साइतमा बिहान ९ः३४ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, निवर्तमान मेयर डा. धवल शमशेर राणा, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र बास केन्द्रीय कार्यालय भवन निर्माण समिति संयोजक तथा बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले संयुक्त रुपमा भवन शिलान्यास गरे ।
शिलान्याससँगै भवन निर्माणको काम अगाडी बढेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताएका छन् । उनले संस्था यहाँसम्म आपुग्दा सम्म थुप्रै चुनौँतीहरुको सामना गरेको स्मरण गर्दै कार्यालय भवनको शिलन्यासबाट संस्थागत सुदृढीकरणको सपना पुरा गरेको बताए । एक बर्ष भित्र कार्यालय भवन सञ्चालन गर्ने लथ्य लिएको जनाउदै भवन निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।
शिलान्यास कार्यक्रममा मेयर विष्टले सिंगो देशका लागि भ्रष्टाचार ठुलो चुनौतीको रुपमा अगाडी आएको बताए । उनले भ्रष्टाचार बिरोधी आवाज थप बुलन्द पार्न जरुरी रहेको बताए । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने अभियान थाल्नु पर्ने उनको भनाइ थियो ।
निवर्तमान मेयर डा. राणाले भ्रष्टाचारबिरुद्ध बासको अभियान युवाहरुका लागि उपलब्धीपूर्ण रहेको भन्दै भ्रष्टाचार गर्ने ब्यक्तिलाई सामाजिक बहिष्कार गर्न सबैलाई अपिल गरे ।
‘तपाईंहरुले अब यो भ्रष्टाचारी हो, हामी बहिष्कार गछौं भन्न थाल्नुपर्छ,’ आफु सधै भ्रष्टाचारको खिलापमा रहेको दावी डा. राणाको छ । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि दावेदार उनले आफु सधै सुशासनका पक्षमा रहेकाले निर्वाचनमा जिताउन आव्हान पनि गरे ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सुशासनका पक्षमा युवाको सहभागिता आवश्यक रहेको औल्याए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले बासले सुशासनका पक्षमा गर्ने अभियानका लागि भवनले संस्थागत बनाउने बताए । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपाध्यक्ष निरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डांगी, बिग्रुपका अध्यक्ष टेक बहादुर पुन लगायतले कार्यक्रममा बोलेका थिए ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।
कार्यक्रममा बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले भवनलाई नितान्त बासको मात्र नभएर सबैको साझा सरोकारको केन्द्रका रुपमा विकास गरिने बताए । उनले एक वर्षभित्रै भवन संरचनालाई पूर्णता दिने सपना सुनाएका थिए । त्यसका लागि सबैको सहयोगको अपेक्षा भवन निर्माण समितिका सहसंयोजक सिटौलाको छ ।