काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभाका सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरेको छ । यसका आज गठबन्धन कार्यदल र शीर्ष नेताको बैठक बोलाएको छ । गठबन्धन कार्यदलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । कार्यदललाई सीट बाँडफाँडको प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।
गत साउन २० गते पाँच दलले कार्यदल गठन गरेको थियो । अहिलेसम्म कार्यदलले विभिन्न चरणमा छलफल गरिसकेको छ । कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो । तर, सीट बाँडफाँडको टुंगो लगाउन सकेको छैन ।
आज बस्ने बैठकबाट टुंगो लगाउने तयारी रहेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै आजै गठबन्धनका शीर्ष नेताको पनि बैठक बोलाइएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बस्ने जनाइएको छ ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुँदै छ । त्यसका लागि सबै दलले भदौ २० गतेभित्र उम्मेदवारको सिफारिश गर्न मातहतका समितिलाई निर्देशन दिइसकेका छन ।