नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका बेला प्रहरीले हस्तक्षेप गरेपछि सो क्षेत्र तनावग्रस्त भएको हो ।
२०६२÷६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए । तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ ।
सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड भएको छ । सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै शालिक राखियो ।
धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो । दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको बताइएको छ ।