काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । बुधबार बिहान अज्ञात व्यत्तिले बम भएको भन्दै फोन गरेपछि आन्तरिक टर्मिनलमा हंगामा मच्चिएको थियो ।
फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन गरेर भ्रामक सूचना दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्डलाइनमा फोन गर्दै आन्तरिकतर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ । उनले भने, ‘डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ ।
उनले विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको जानकारी दिए । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको जनाएको छ ।