कोहलपुर । नेपालगन्जमा रहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरमा सारिएको छ ।
नेपालगन्जको कार्यालय राखेर यसअघि कामकाज गर्दै आएको जिल्ला ट्राफिक कार्यालय कोहलपुरस्थित मध्यपश्चिम ट्राफिक प्रहरी रहेको भवनमा सरेको हो ।
तत्कालिन मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशमा गाभिएसँगै राजमार्ग सुरक्षालाई ध्यान दिँदै जिल्ला ट्राफिकलाई कोहलपुर सारिएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकायले जानकारी दिए ।
“नेपालगञ्जमा भवन अपुग भइरहेको थियो तर कोहलपुरस्थित ट्राफिक भवन खाली हुँदा हामीलाई कामकाज गर्न सहज हुने हुँदा त्यतै कार्यालय सारेका छौं”, रोकायले भने ।
बाँके ट्राफिकले पूर्व पश्चिम राजमार्ग अन्तर्गत् पूर्वी शिव खोलादेखि पश्चिममा मानखोलासम्म ८५ किमीको दुरी हेर्ने हुँदा राजमार्गमा सबै जसो स्थानमा जुनियर प्रहरी अधिकृत राखिएको रोकायले बताए ।
अहिले बाँके ट्राफिक कार्यालयले जिल्लाभरी गरेर १२ वटा स्थानमा ट्राफिक पोष्टबाट सेवा दिइरहेको छ। ट्राफिक प्रहरी निरिक्षक रोकायका अनुसार कोहलपुर मुख्य कार्यालयमा जिल्ला प्रमुख सहित १५ जना, नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी कार्यालयमा नायब निरिक्षक सहित १५ जना, नेपालगञ्ज बसपार्कमा सहायक निरिक्षक सहित ८ जना र फुल्टेक्रामा २ जना कार्यरत रहेका छन्।
त्यस्तै खजुरामा सहायक निरिक्षक सहित ३ जना, गनापुरमा सहायक निरिक्षक सहित ५ जना, कोहलपुर हाइस्कुलमा ३ जना, कुसुम ट्राफिक पोष्टमा सहायक निरिक्षक सहित ३ जना कार्यरत रहेका छन् ।
त्यस्तै प्रहरी निरिक्षक रोकायका अनुसार शम्शेरगंजमा नायब निरिक्षक सहित ५ जना, सम्झना चोकमा नायब निरिक्षक सहित ३ जना, उत्तर चिसापानीमा हवलदार सहित २ जना र मदन चोकमा १ जना कार्यरत रहेका छन्।