काठमाडाैं ।
जिल्ला सुरक्षा समिति बाँकेले आसन्न दशैंलाई लक्षित गर्दै आफ्ना सबै सुरक्षा अंगहरुलाई सतर्क बनाएको छ । त्यसक्रममा बाँके प्रहरीले सुरक्षा परिचालनलाई रणनीतिक ढंगले उच्च बनाएको जनाएको छ । ‘सुरक्षा योजना बनाएर सोही अनुसार परिचालन भैरहेको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘गस्ती, पिकेट, पेट्रोलिङदेखि नागरिक सुरक्षा कक्ष स्थापना गरेर जनतालाई सतर्क बनाउने कामसम्म भैरहेको छ ।’
गत साता भारतसँगको सीमानाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना गरेको नेपाल प्रहरीले आज आइतबार नेपालगन्ज बसपार्कमा अर्काे यात्रु सहायता कक्ष स्थापना गर्दैछ । सशस्त्र प्रहरीदेखि ट्राफिक प्रहरीसम्मले पनि नागरिकको सहजताका लागि त्यसखालका यूनिटहरु परिचालन गरेको जनाएका छन् । ‘राजमार्ग गस्तीलाई पनि प्राथमिकतामा राखिएको छ’, शुक्रबारदेखि नेपालगन्ज विमानस्थल क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको बाँके प्रहरीले भनेको छ, ‘कुनै पनि किसिमबाट नागरिकलाई असुरक्षा उत्पन्न हुने गतिविधिलाई हामी निरुत्साहित गर्दै अगाडि बढिरहेका छौं ।’
बसपार्कमा स्थापना गर्ने यात्रु सहायता कक्षले नागरिकका समस्या बुझ्ने र ठगी रोक्नमा सहजीकरण गर्नेछ । ‘त्यसबाहेक साधा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ’, सार्वजनिक सवारीसाधनमा ठगी रोक्न नियमित जाँच भैरहेको जानकारी दिंदै प्रहरी उपरीक्षक पौडेलले भने, ‘कोहलपुरमा पनि यात्रु सहायता कक्ष स्थापना गरिंदैछ ।’
गैरकानुनी काम गर्नेलाई कानुनी दायरामा ल्याउनेदेखि आवश्यकता अनुसार, यातायात कर्मचारी तथा सञ्चालकहरुसँग समन्वय गरी यात्रुका चापका आधारमा थप गाडी समेतको व्यवस्था गरिने प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।