नेपालगञ्ज : कालो झण्डा देखाएको निहुँमा राममनोहर यादवलाई नियन्त्रणमा लिएर हत्या गरिएको परिवारले आरोप लगाएको छ । जानकी गाउँपालिका निवासी यादवका परिवारले बिहीवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि यस्तो आरोप लगाएका हुन् ।
बर्दियाको गुलरियामा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले यादवलाई नियन्त्रणमा लिई हिरासतमानै हत्या गरेको उनीहरुले दाबी गरे । यादवका परिवारले घटनाको छानविन गरि क्षतिपूर्तीको समेत माग गरेका छन् ।
संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने छूट दिएपनि भदौ ७ गते प्रहरीलेनै घटना गराएको परिवारको दाबी छ ।
परिवारका सदस्यलाई रोहबर नराखी काठमाण्डौमा पोष्टमार्टम गरिएको भन्दै राममनोहरका भाई विष्णु यादवले अझै दाहसंस्कार नगरेको जानकारी दिए । यादवलाई शहिद घोषणा गर्न र वास्तविकता पत्ता लगाई दोषीमाथि कारबाही गर्न उनले माग गरे ।