नेपालगन्ज ।
होटल तथा रेष्टुरेन्टहरुको हब बन्दै गैरहेको नेपालगन्जमा ठूलो लगानीको एउटा अर्को होटल सञ्चालनमा आउने भएको छ । झण्डै पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको हो ।
भारतको हस्पिटालिटि क्षेत्रमा ख्याती कमाउँदै अगाडि बढेको ब्लिससँग मार्केटिङमा साझेदारी गरेको उक्त कम्पनीले भारतीय पर्यटकहरुलाई नै बढी लक्षित गरेको जनाएको छ ।
नेपालगन्ज विमानस्थल नजिकै जानकी–६ मा ४१ कठ्ठा क्षेत्रफलमा निर्माण भैरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भैरहेको प्रबन्ध निर्देशक सिताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् ।
‘तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं’, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले भने, ‘मेरो सेवा सुरु भएपछि नेपालगन्जको हस्पिटालिटिमा नयाँ रौनक थपिनेछ ।’
होटल बाटिकाको व्यवस्थापन सम्हालेका अनुभवी यादवले झण्डै ५ बर्ष काठमाडौंमा कुमारी होटल व्यवस्थापन हेरेको बताउँछन् । ‘मेरो होटलबाट होटलको व्यवस्थापनले ५ तारे सुविधा उपलब्ध गराउने छ’, वातावरण मैत्री ४८ वटा कोठाबाट सेवा शुभारम्भ गर्न लागेका यादवले तिहारमा ‘सफ्ट लन्चिङ’ र जनवरीबाट पुरै सेवा सञ्चालनमा ल्याउने योजना सुनाए ।
७१ करोड अनुमानित लागत सुनाउँदै ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले नेटवर्किङ्ग र प्याकेजमा आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्ज ल्याउने योजना बनाएको बताए ।
‘मेरो अनुभव र अहिलेसम्मको लगानीलाई मूर्त रुप दिन यो मेरो ड्रिम प्रोजेक्ट हो’, कमाउधन्दा भन्दा सेवामूलक व्यवसायका रुपमा हस्पिटालिटि क्षेत्रलाई लिइनुपर्ने तर्क गर्दै यादवले भने, ‘नेपालगन्जमा द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्टले केही नयाँ प्रयोग गरेर देखाउँदै छ ।’
त्यसका लागि भारतीय अनुभवी कम्पनीसँग मार्केटिङ्गमा साझेदारी गरेको यादवको भनाइ छ । भारतीय पर्यटकहरुलाई मध्यनजर आगामी बैशाख भित्रै क्यासिनो सञ्चालनका लागि पनि तयारी अगाडि बढिसकेको यादवले जानकारी दिए ।
त्यसका लागि रक इन्टरनेशनल गेमिङ क्लबसँग होटलले साझेदारी गर्ने भएको छ ।