काठमाडाैं ।
केही साता यता सुधारउन्मुख रहेको शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम समेत एक अर्ब नाघेको छ । अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको बजारमा सूचकसँगै कारोबार रकम समेत अर्ब नाघ्दा लगानीकर्तामा उत्साह जागेको छ ।
विस्तारै बढेको बजारमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकहरुमा देखिएको छ भने यसै समूहको उच्च कारोबार समेत भएको छ । अहिलेसम्म गत बर्षको लाभांश घोषणा नगरेका वाणिज्य बैंकहरुप्रति लगानीकर्ताको ध्यान खिचिएको छ ।
लगानीकर्ताले बैंकहरुले दिने प्रतिफल र आगामी दिनमा गर्न सक्ने प्रगतिको आंकलन गरेर लगानी गरेको विश्लेषण गरिएको छ । साथै ठूला र संस्थागत लगानीकर्ताले समेत बजारमा विस्तारै लगानी बढाउन थालेपछि कारोबारमा उच्च सुधार आएको हो ।
मंगलबार नेप्से २२.३७ अंकले बढेर १२८०.०५ बिन्दुमा उक्लिएको छ भने कारोबार रकम एक अर्ब १२ करोड नाघेको छ । जुन आइतबारको कारोबार रकमभन्दा ३५ करोडले बढी हो ।
यसदिन १७३ कम्पनीको ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भयो । जसमा वाणिज्य बैंकहरुको मात्रै ७७ करोड ८० लाख बढीको शेयर किनबेच भएको छ ।
बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन कर्जालाई सहज बनाएपछि लगानीकर्तामा थप उत्साह जागेको हो । बजार बढ्दा मार्जिन कलको त्रास समेत सकिएको छ । ब्याजदर घट्ने आश पनि लगानीकर्तामा उत्तिकै छ ।
मंगलबार नेप्सेमा कारोबार भएका समूहमध्ये १० समूहमा सुधार आएपछि नेप्सेमा उछाल आएको हो । सबैभन्दा बढी निर्जीवन बीमा ४९ दशमलव १९, विकास बैंक ३७ दशमलव ३१, जीवन बीमा ३७ दशमलव ३६ र वाणिज्य बैंक २९ दशमलव १ अंकले बढेपछि बजारमा उछाल आएको हो । यसदिन अन्य समूहमा भने १ दशमलव ४६ अंकको सामान्य गिरावट आएको छ ।
नेप्से परिसूचकमा आएको दोहोरो अंकको सुधार तथा कारोबार रकममा समेत आएको उच्च बढोत्तरीले बजारले बुलिस ट्रेण्ड समातेको आकँलन समेत गरिएको छ ।
यसदिन सबैभन्दा धेरै प्रभू बैंकले ८ करोड ५१ लाख बढीको कारोबार भयो । एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक र नेपाल बैंकको पनि पाँच करोड बढीको शेयर किनबेच भयो ।
बजारमा उछाल आउँदा अधिकांश कम्पनीको शेयरमूल्य बढेको छ । सबैभन्दा धेरै भार्गव विकास बैंकको सेयर मूल्य ९.८२ प्रतिशतले बढ्यो । यस्तै, सनराइज बैंकको ८.१६ प्रतिशत तथा प्रभू बैंकको शेयर मूल्य ७.३६ प्रतिशले बढेको छ ।
यसदिन गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४.५४ प्रतिशतका दरले गुमाए ।