काठमाडौँ, ५ असोज – चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो । उहाँले नेपाल ‘एक चीन नीतिप्रति’ प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताउनुभयो ।
उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला सम्झौता र समझदारीले दुई देशबीचको सम्बन्ध परम्परागतभन्दा माथि उठेको बताउनुभयो । भेटका क्रममा उहाँले व्यापार तथा पारवाहन सम्झौता, बेल्ट एण्ड रोड इन्निसीएटिभ (बिआरआई)मा नेपालको सहभागिता र व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको बताउनुभयो ।
उपराष्ट्रपति पुनले नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको समृद्धिमा सिचुवान प्रान्तका सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा तीन वर्ष पहिले भूकम्प जाँदा सबैभन्दा पहिले सिचुवान प्रान्तका प्रतिनिधि गएर उद्धार र राहतमा सहयोग गरेको स्मरण गर्नुहुँदै धन्यवाद दिनुभयो ।
उपराष्ट्रपति पुनले नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दैै लगानीका लागि चीन र सिचुवान प्रान्तलाई आग्रह गर्नुभयो । नेपालमा जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । नेपालसँग भएको प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्न चीनसँग भएको प्रविधि, अनुभव र पूँजीको खाँचो रहेको उल्लेख गर्दै उहाँले दुई देशबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षका रुपमा मनाउन लागेको जानकारी गराउनुहुँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । उहाँले अहिले नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ रहेकोसमेत बताउनुभयो ।
भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन–नेपाल सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभयो । उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिनुभयो ।
सचिव पेङले सिचुवान प्रान्त र नेपालको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभयो । उहाँले नेपालको चौतर्फी विकासका लागि सहकार्य गर्न सिचुवान प्रान्त तयार रहेको बताउनुभयो । उहाँले नेपाल र सिचुवानको सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
सचिव पेङले ‘एक चीन नीति’प्रति नेपालको समर्थन, प्रतिबद्धता र व्यावहारिक कार्यन्वयनबाट चीन अत्यन्त खुशी रहेको बताउनुभयो । उहाँले नेपालको ‘एक चीन नीति’प्रतिको दृढता दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउने राजनीतिक आधार भएको बताउनुभयो ।
नेपालको भ्रमण गर्नेमा सिचुवान प्रान्तका नागरिक अधिक रहेको उल्लेख गर्दै सचिवले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न र संस्कृतिको अनुभव गर्न चिनियाँ नागरिक आतुर रहेको बताउनुभयो । चिनियाँ नेपाल भ्रमणका लागि अत्यन्त रुची राख्ने बताउँदै उहाँले अनुकूल समयमा आफूले पनि नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने इच्छा व्यक्त गर्नुभयो ।
सचिव पेङले नेपालमा चिनियाँ व्यवसायीले लगानी गरिरहेको स्मरण गर्दै अन्य व्यवसायी पनि नेपालमा गएर लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध सुधार तथा सहकार्यलाई सहज बनाउन छेन्दुमा नेपालले महावाणिज्य दूतावास चाँडै खोल्नुपर्ने बताउनुभयो । “सम्माननीज्यू नेपाल फर्कना साथ छेन्दुमा महाणिज्य दूतावास खोल्नेमा नेपाल सरकारले निर्णय लिनेमा आशावादी छु”, उहाँले भन्नुभयो, “महावाणिज्य दूतावास स्थापना भएमा हामीलाई धेरै सहज हुनेछ ।”
सचिव पेङले १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा गरेको आमन्त्रणा स्वीकारेर उपस्थित हुनुका साथै महत्वपूर्ण सम्बोधन गरेकोमा उपराष्ट्रपतिलाई धन्यवाद दिनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
भेटका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव रामप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत हुनुहुन्थ्यो भने सिचुवान प्रान्तका तर्फबाट सचिवसहित गभर्नर, उपगभर्नर उपस्थित हुनुहुन्थ्यो ।
उपराष्ट्रपतिसँग आजै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज बिहान छेन्दुमा रहेको २०० वर्ष पुरानो टाँसी मन्दिरको अवलोकन भ्रमण गर्नुभएको थियो ।