सुर्खेत, ३१ भदौ – अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ ।
स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो । आठ थान भाँडावर्तनसहित तयारी अवस्था राखिएको ३५० लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
तीज पर्वलाई अवसर पारेर प्रहरीले शुरु गरेको ‘अवैध मदिरा खोजतलास तथा नष्ट अभियान’ अन्तर्गत प्रहरीले यो अभियान थालेको हो । “अवैध घरेलु मदिरा उत्पादन विगतभन्दा निकै नियन्त्रण आएको छ,” प्रवक्ता चौधरीले भन्नुभयो, “समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न हामी खोजतलास अभियानलाई अझ सशक्त बनाएर लैजान्छौँ ।”