लमही, २८ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँबाट आज काठमाडौं लगिएको छ । आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याइएको थियो । विकको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो । त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौँ झिकाउन पत्र काटेको हो तर अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।
प्रदेश तथा प्रतिनिधिसभाको चुनावको बेला काङ्ग्रेसले आयोजना गरेको चुनावीसभालाई बिथोल्न बम विस्फोट गरिएको थियो । उक्त बम विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको भनी विकलाई आरोप लागेको छ ।