काठमाडाैं ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रत्येक शिक्षण संस्थाः एक उद्यम तथा एक वडाः एक उद्यमको योजना अघि सारिएको बताउनुभएको छ ।
जिल्ला युवा समिति काठमाडौँले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा ढुंगेलले १६ देखि २४ वर्षका युवालाई व्यावसायिक सीपका माध्यमबाट योग्य बनाउनका लागि परिषद्ले एकद्वार प्रणालीअनुरूप युवा उद्यमशीलताका कार्यक्रमलाई हरेक वडा र पालिकासम्म लैजाने जानकारी दिनुभयो ।
जिल्ला युवा समिति काठमाडौँका अध्यक्ष निरेशलाल सिंहले बेरोजगार युवालाई डकर्मी, सिकर्मी, कपाल कटाइ, फर्निचरलगायत विधामा अभिरुचिअनुसार तालीम उपलब्ध गराई व्यावसायिक बनाउन सकिने बताउनुभयो ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले युवाको सीप र दक्षतालाई देशको विकासमा लगाउन सकेमा मात्र देशलाई समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सोही परिषद्का सदस्य भावना भट्ट, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरीलगायतले आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा युवाको बलियो उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सातदिने उद्घोषण तालीममा सहभागी १५ युवालाई आज प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।