काठमाडाैं ।
भिभो आइपिएल २०१८ अन्तर्गत आज राति फिरोज शाह कोट्ला स्टेडियममा चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्ने छन् । सो खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ ।
चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने पक्का हुनेछ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने तालिकाको अन्तिम स्थानमा रहेको छ । १२ खेलबाट दिल्लीको केवल ६ अंक रहेको छ ।
यस भन्दा अघिल्लो खेलमा पहिले ब्याटिङ गर्दै १ सय ८१ रन जोड्न सफल रहे पनि दिल्ली रोयल च्यालेन्जर्स बेंग्लौरसँग हार्न पुगेको थियो । सो खेलमा दिल्लीका लागि नेपाली स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए ।
सुरुवाती ११ मा केवल ४ विदेशी खेलाडी राख्ने नियम भएकाले पहिलो ११ खेलमा सन्दिपलाई सुरुवाती ११ मा स्थान बनाउन मुस्किल भएको थियो । तर बैंग्लोरविरुद्धको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाउने लगभग पक्का रहेको छ ।
सन्दिपसँगै साउथ अफ्रिकी खेलाडी जुनियर डालाले पनि अघिल्लो खेलमा डेब्यु गरेका थिए । तर उनले आफ्नो ३ ओभरमा ३४ रन खर्चेका थिए । त्यसैले आज दिल्ली आफ्नो टोलीमा हेरफेर गर्न खोज्नेछ भने डालाको विकल्प हेर्न सक्ने छ ।
विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली र एबी डि भिलियर्सलाई बलिङ गरेका सन्दिपले आजको खेलमा महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता विश्वस्तरिय खेलाडीलाई बलिङ गर्न सक्ने छन् ।