बैशाख २४, काठमाण्डौ । विश्व ठकुरी समुदायको साझा संगठन ठकुरी सहयोग संजालले आफ्नो सदस्यता लिनको लागि अनिवार्य हिन्दु हुनु पर्ने नियम बनाएको छ । आज राजधानीमा ठकुरी सहयोग संजालको बैठकले उक्त कुरा पारित गरेको हो । परापुर्व काल देखि नै ठकुरीहरुले हिन्दु धर्मलाई अंगाल्दै आइरहेको र देशमा विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराई रहेको अवस्थामा संजालले उक्त निर्णय गरेको हो । अन्य धर्महरुलाई पनि सम्मान गर्ने, देशमा धार्मिक सहिष्णुता कायम गर्ने तर ठकुरी हुनको लागि अनिवार्य हिन्दु हुनु पर्ने संजालले नियम बनाएको छ ।
ठकुरीहरुको इतिहास हिन्दु धर्मसंग जोडिएको र विभिन्न राज्यमा राज गर्ने ठकुरी राजाहरुलाई भगवान विष्णुको अवतार मानिएको कारण ठकुरी समुदायसंग हिन्दु धर्म जोडिएको ठकुरी सहयोग संजालका सल्लहकार तथा इतिहासका ज्ञाता किरण मल्ल ठकुरीले बताए । बेदका अनुसार ठकुरीहरुको गायत्री मन्त्रमा समेत हिन्दुको पहिचान खड्ग जोडिएको प्रष्ट भएका कारण ठकुरी हुनको लागि अनिवार्य हिन्दु हुन पर्ने संजालका अर्का सल्लाहकार अधिवक्ता किरण शाहले बताए । संजालका अध्यक्ष रेशम जंग शाहका अनुसार ठकुरीको कुल देवता नै हिन्दु भएको कारण ठकुरीहरुले धर्म परिवर्तन गर्न नमिल्ने बताए ।
आफ्ना समुदायका संपुर्णलाई स्मार्ट सदस्यता परिचयपत्र वितरण थालिसकेको अवस्थामा संजालले यो नियम बनाएको छ । अब संजालको स्मार्ट कार्ड लिन अनिवार्य हिन्दु भएको उल्लेख आवेदकले पेश गर्नु पर्ने छ । स्मार्ट कार्ड मार्फत ठकुरीहरुे विभिन्न क्षेत्रमा सहुलियत पनि पाउने छन् । जस्का लागि संजाले भिन्न क्षेत्रका व्यवसायिक घरनाहरु संग सम्झौता गर्न थालेको छ ।