काठमाडाैं । ४ बैशाख – जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् ।
गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो । त्यतिखेर बिहेबारे आफूलाई राम्रो ज्ञान नै थिएन तर बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनले गुनासो गरिन् ।
“सोह्र वर्षको हुँदा पहिलो सन्तानका रूपमा छोरा जन्माएँ । कलिलै उमेर भएकाले सुत्केरी हुन निकै कठिन भयो”, उनले अतीत सम्झँदै भनिन्, “तीन वर्षपछि दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएँ । श्रीमानले ८ कक्षासम्म पढेर छोड्नुभयो । मेरो ६ कक्षामै पढाइ छुट्यो । अहिले न हातमा सीप छ न योग्यता नै । घरको आर्थिक अवस्था निकै नाजुक छ तर दुवैजना बेरोजगार हुँदा कसरी जिन्दगी बिताउने भन्ने चिन्ताले सताउन थालेको छ ।”
सानैमा बिहे गरेकामा पछुतो
उनले सानैमा बिहे गरेकामा अहिले उनलाई पछुतो लागेको छ । कलिलै उमेरमा बिहे गरेर बच्चा जन्माउनु पर्दा आफ्नो र बच्चाको स्वास्थ्य कमजोर छ । बच्चालाई कुपोषणले सताएको छ । आफ्नै बारीमा लगाएको अन्नले गुजारा नचलेपछि घर खर्च चलाउनका लागि श्रीमान् पाँच महिनाअघि कामको खोजीमा भारतको कालापहाड गएका छन् । घरमा सासू ससुरा, देवर, नन्द, छोरा, छोरी र म छौँ बिहान बेलुकाको छाक टार्न पनि निकै मुस्किल पर्छ, उनले भनिन् ।
सोही ठाउँकी पदमी बुढाको उमेर अहिले भर्खर १८ वर्षको भयो । उनको पनि तीन वर्षअघि नै बिहे भएको हो । उनको काखमा दुई वर्षकी छोरी छ । श्रीमान् रामबहादुर बुढा वैदेशिक कामको सिलसिलामा एक वर्षदेखि भारतमा छन् । आठ कक्षामा पढ्दै गर्दा उनको उमेर १५ वर्षको थियो । त्यतिखेरै पदमी र रामबहादुरका परिवारबीच कुराकानी चलेपछि परिवारले उनीहरूको बिहे गराइदिए ।
बिहेसँगै बुहारीका रूपमा घरायसी काम गर्नुपर्ने बाध्यताले उनको पढाइ छुट्यो बिहेपछि सुन्दर भविष्यको कल्पना गर्ने पवित्राका जीवन अहिले बोझिलो लागेको उनको गुनासो छ ।
“बिहे के हो रु बिहे किन गनुपर्छ रु केही थाहा थिएन । बाआमाको आदेशले बिहे गरेँ । पढ्न पनि पाइनँ ।” गुनासो गर्दै उनले भनिन्, “उमेर नपुगी बिहे गर्नु र गराउनु दुवै बेठिक रहेछ । मैले गरे पनि मेरा सन्तानलाई उमेर नपुगी बिहे गराउँदिन । केटाकेटीलाई राम्रोसँग पढाउँछु । शिक्षा नै ठूलो कुरा रहेछ ।”
विनिता र पदमीमात्र होइन गाउँमा १५ वर्ष नपुग्दै बिहे गरेका तीन दर्जनभन्दा बढी आमा छन् । यो गाउँमा मात्र होइन जिल्लाका अधिकांश ग्रामीण भेगमा उमेर नपुग्दै बिहे गर्न परिवारले नै प्रोत्साहन दिने गरेका छन् । केटीको उमेर नपुगे पनि केटा पक्षले कुरा चलाए आमाबाबुले नै बिहे गरिदिने गरेको पाइन्छ ।