पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एकमहिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी विधिवतरुपमा सकिंदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसेर महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहँदै आएको छ ।
आज व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्षतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ ।
स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ । विशेष गरी महिलाहरुले बस्ने यो व्रतमा काठमाडौँको साँखुस्थित शालीनदीमा महिनाभर बसेको व्रतको विसर्जन गरी व्रतालुहरु आफ्ना घर फर्कन्छन् ।
आठ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ ।मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ ।