काठमाण्डौ, १३ पुष । आर्थिक अभावका कारण विद्यालय जान नपाएका मकवानपुरका चेपागं र तामागं परिवारका बालबालिका अब विद्यालय जान पाउने भएका छन् । कापी कलम समेत किन्ने आर्थिक अवस्था नभएका कारण मकवानपुरका करिब ३० विद्यार्थीलाई विद्यालय जान समस्या भएको थियो ।
मकवानपुर चिसापानी गढीको वटुक भैरव प्राथमिक विद्यालयमा पढ्ने विपन्न बालबालिकाहरुका लागि ठकुरी सहयोग सञ्जालले शैक्षिक सामग्री सहयोग गरेको हो । उनीहरुलाई कापी किताव, पेन्सिल इरेजर लगायतका शैक्षिक सामग्री सहयोग गरेको हो ।
३० बालबालिकाका लागि ५ सय कापी, ३३६ थान पेन्सिल, रवर १०० थान डिस्प्ले बोर्ड लगायतका शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष रेशम जंग शाहले जानकारी दिए ।
सो संस्थाले आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ७ देखि पढ्न नसकेका विद्यार्थीहरुलाई समेत पढाई दिने जिम्मा लिएको छ । संस्थाका कानुनी सल्लाहकार किरण शाहले रेनुका प्रजा र सुस्मीता वाइवालाई विद्यालय पढाउने सबै जिम्मा लिएका हुन् । ति दुई बालिका महेन्द्र मावि भिमफेदीमा अध्ययनरत छन् ।