माओवादी केन्द्रको केन्दीय कार्यालयको आज बसेको बैठकमा सरकारबारे छलफल भएको हो । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै नयाँ सरकार गठनको प्रयास सुरु गर्ने तयारी थालेको हो । माओवादीले गत बैशाखमा भएको एमाले र माओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ध्यान नदिएको आरोपसमेत लगाएको छ ।
मधेशी र जनजातिका मुद्दा सम्बोधन गर्ने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि पनि पहल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिइएको श्रोतले जनाएको छ । माओवादीले बजेट पास भएपछि दाहाललाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको दाबी गर्दै आएको छ । यद्यपि, प्रधानमन्त्री स्वयमले भने यसलाई अस्वीकार गर्ने गरेका छन् ।
माओवादीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा भएको भन्दै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको छ । माओवादीले राष्ट्रिय सहमतिको सरकार ओलीकै नेतृत्वमा बन्न सक्ने पनि बताएको छ ।