काठमाडौं– बेल्जियमको ब्रसेल्समा सम्पन्न युरोपियन युनियन र भारतको संयुक्त सम्मेलनले निकालेको विज्ञप्तीबारे कांग्रेसका युवा नेताहरुले विरोध जनाएका छन् ।
संसद भवन नयाँ वानेश्वरमा आज बसेको कांग्रेस केन्द्रिय समितिको बैठकमा चार युवा केन्द्रिय सदस्यले विज्ञप्तीबारे आपत्ती जनाउँदै छुट्टै प्रस्ताव नै पेश गरेका छन् ।
केन्द्रिय सदस्यहरु धनराज गुरुङ, बद्रि पाण्डे, गुरुराज घिमिरे र जिवन परियारले संयुक्त प्रस्ताव पेश गर्दै युरोपियन युनियन र भारतले नेपालको संविधानबारे बोलेर सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् ।
त्यस्तै कमल थापाले भारत भ्रमणको क्रममा भारतिय विदेशमन्त्री सुस्मा स्वराजलाई नेपालको आन्तरिक समस्या समाधानका लागी पेश गरेको तिन बुँदे सुझाव पत्र पनि नेपालको सार्वभौमसत्ताको विरुद्धमा भएको भन्दै गुरुङ सहितका केन्द्रिय सदस्यहरुले छफलको माग गरेका थिए ।
‘हाम्रो प्रस्तावमा छलफल गर्न समय लाग्ने हुनाले सभापतिले दलको निर्वाचन सकिएपछि छलफल चलाउने भन्नुभएको छ’ केन्द्रीय सदस्य धनराज गुरुङले भने, ‘सभापतिले हाम्रो प्रस्तावलाई ‘गम्भीर’ भन्दै बहस चलाउने भन्नुभयो, यसबारे अर्को बैठकमा छलफल हुन्छ ।’
विधान संशोधन प्रस्ताव स्वीकृत
बैठकले संसदीय दलको विधान संसोधन प्रस्ताव स्वीकृत गरेको छ । संसदीय दलले स्विकृतीका लागी पठाएको विधान संसोधन प्रस्ताव सर्वसम्मतीले पारित गरेको गुरुङले बताए ।
प्रस्तावमा संसदिय दलको कार्यसमितीमा समानुपातीक र समावेशी कोटा १२ बाट बढाएर १५ जना हुनेगरी परिमार्जन गर्ने उल्लेख छ ।
त्यस्तै हरेक प्रदेशबाट एक जनाका दरले सात जना र संसदिय दलको कार्यसमितीमा दलको नेतालो नौ जनासम्म मनोनित गर्न पाउने प्रावधान समेत प्रस्ताव गरिएको थियो ।