७ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको निर्बाचनको मतगणना शुक्रबारदेखि सुरु हुँदैछ । मतदान प्रज्ञाभवन कमलादीमा भए पनि मतगणना भने एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ ।
कार्यालय भित्र १८ स्थानमा मतगणनाको तयारी भैरहेको महासचिव पदका प्रत्याशी अब्दुल हुसेन खानले जानकारी दिए । ‘आचारसंहिता बनाएर १८ स्थानमा एकैपटक मतगणना सुरु गर्ने तयारी भैरहेको छ,’ खानले भने, ‘ठाउँ अपुग भए १० स्थानमा मत गणना सुरु हुन्छ ।’
एउटा मतगणना केन्द्रमा एक-एक जना प्रतिनिधि राखिने उनले बताए ।
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको निर्बाचनमा १ हजार ५ सय २० मत खसेको थियो । १ हजार ५ सय ९७ प्रतिनिधिमध्ये ७७ मत नखसेको महासचिव पदका प्रत्यासी खानले जानकारी दिए ।
२८ माघमा २२ औं राष्ट्रिय महाधिवेशन उदघाटन भए पनि प्रतिनिधि विवादका कारण महाधिवेशन लम्बिएको छ । नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नविना लामा र माधव कुमार नेपाल पक्षबाट दीपक गौतम प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।